Rule 41
निम्न माध्यमिक शिक्षा उतीर्ण परीक्षा समितिको काम, कर्तव्य र अधिकार
(१) निम्न माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) परीक्षा परिचालन सम्बन्धमा नीति निर्धारण गर्ने,
(ख) मन्त्रालयले तोकेको न्यूनतम शैक्षिक स्तर कायम गरेका विद्यालयलाई आफ्नो विद्यालयको परीक्षा आफै वा समूहगत रुपमा सञ्चालन गर्न अनुमति दिने,
(ग) परीक्षा केन्द्र तोक्ने,
(घ) विद्यालयहरुलाई समूहमा विभाजन गरी परीक्षा सञ्चालन गर्ने,
(ङ) परीक्षाफल प्रकाशित गराउने तथा उत्तीर्ण परीक्षार्थीलाई प्रमाणपत्र दिने,
(च) परीक्षा शुल्क तथा परीक्षा सम्बन्धी काममा संलग्न व्यक्तिको पारिश्रमिक निर्धारण गर्ने,
(छ) कुनै परीक्षा केन्द्रमा अनियमितता भएमा आवश्यकतानुसार परीक्षा बदर गरी पुन परीक्षा गराउने वा त्यस्तो परीक्षा केन्द्र बन्द गर्ने,
(ज) दैवी प्रकोप वा अन्य कुनै कारणबाट निर्धारित समयमा परीक्षा सञ्चालन गर्न वा परीक्षाफल प्रकाशित गर्न बाधा परेमा तुरुन्तै आवश्यक निर्णय लिने,
(झ)मन्त्रालय, विभाग तथा निर्देशनालयले तोके बमोजिमका अन्य काम गर्ने ।
(१क) उपनियम (१) को खण्ड (ङ) बमोजिम प्रमाणपत्र दिंदा परीक्षा समितिले विषयगत उत्तीर्ण पद्धति (सब्जेक्ट वाईज पास सिष्टम) अवलम्वन गरी जतिवटा विषयमा विद्यार्थी उत्तीर्ण भएको हुन्छ त्यतिवटा विषयको मात्र प्रमाणपत्र दिनेछ ।
(२) परीक्षा समितिले उपनियम (१) बमोजिम आफूलाई प्राप्त अधिकारमध्ये आवश्यकतानुसार केही अधिकार उप–समिति वा कार्यटोली गठन गरी सो उप–समिति वा कार्यटोली वा कुनै अधिकारीलाई सुम्पन सक्नेछ ।